प्रदेश समाचार

वैदेशिक रोजगारीमा गएका युवाहरुको हत्याको जिम्मा राज्यले लिनुपर्छ : प्रभु साह

२६ जेष्ठ २०८१, शनिबार १७:०८

वीरगन्ज, २६ जेठ । आम जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले बैदेशिक रोजगारीमा गएका युवाहरुको हत्याको जिम्मेवारी राज्यले लिनुपर्ने बताउनु भएको छ ।

रोजगारीका लागि नेपालबाट युवाहरु बिभिन्न देशमा पुगिरहेको र कतिपयको त्यहाँ हत्या हुने गरेको बताउँदै उहाँले त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने बताउनु भयो ।

आजपा निकटको आईटी आर्मीको आज काठमाडौंमा बसेको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले नेपालमा युवाहरु स्वास्थ्य परिक्षण गरी रोजगारका लागि विदेश गईरहेको तर कतिपयको हत्या हुने गरेको बताउनुभयो ।

विदेश जानु अघि स्वास्थ्य परिक्षण गरी कुनै रोग नलागेको प्रमाणित भएपछि मात्रै जान पाउने नियम रहेको र निरोगिताको प्रमाणित भएपछि विदेश पुगेका युवाहरुको लाश किन आईरहेको छ ? भन्ने प्रश्न गर्दै त्यसको जवाफ यो सरकारले दिनुपर्ने बताउनुभयो ।

योग्यता, क्षमता अनुसारको रोजागर र पारिश्रमिक सरकारले उपलब्ध गराउन नसक्दा बाध्य भएर युवाहरु रोजगारको खोजी गर्दै खाडीमुलुक पुगिरहेको साहको तर्क छ ।

केही नेताहरुका कारण वैदेशिक रोजगारीमै ठगी भईरहेको र नेताहरुकै संलग्नतामा वैदेशिक रोजगारीमा ठगी धन्दा चलिरहेको बताउँदै उहाँले ंत्यसको पर्दाफास गर्न आईटी आर्मीलाई निर्देशन दिनुभयो ।

नेपालमा भ्रष्टाचार, अनियमितता र लुटेर राखिएको कालोधनलाई रेमिटेन्ससंग साटेर विदेश लाने काम भईरहेको बताउँदै उहाँले यसबाट राज्यलाई अर्बौ रकमको नोक्सानी भईरहँदा पनि सरकार यस्तो कालोधनलाई रेमिटेन्ससंग साटेर विदेश पठाउने हुन्डीकारोवारीलाई कारवाही गर्न नसकिरहेको बताउनुभयो ।

आईटी आर्मीका अध्यक्ष चन्द्रभुषण साहको अध्यक्षतामा बसेको बैठकमा पार्टीका वरिष्ठ उपाध्यक्ष एवं संविधान सभा सदस्य तिलक थापामगर, उपाध्यक्ष ज्ञानेन्द्र तामाङ लगायतको सहभागिता रहेको आईटी आर्मीकी उपाध्यक्ष सुमन यादवले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्