अन्तर्वार्ता

सुरक्षा निकायको व्यवहारका कारण मधेशमा भारतीय पर्यटकलाई आउन समस्या भइरहेको छ : मुख्यमन्त्री सिंह

१२ असार २०८१, बुधबार १६:४३

वीरगञ्ज,१२ असार । मधेशका मुख्यमन्त्री सतिस कुमार सिंहले सुरक्षा निकायको व्यवहारका कारण मधेशमा भारतीय पर्यटकलाई आउन समस्या भइरहेको बताएका छन् ।घुमौं मधेश, बुझौं मधेश नाराका साथ आज बीरगन्जमा आयोजित सरोकारवालाहरुसंगको अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री सिंहले यस्तो बताए ।

उनका अनुसार मधेशमा बढी पर्यटन भारतबाट आउने गरेका छन् । तर सुरक्षा जाँचमा गरिने व्यवहारले उनीहरु झनझटमा पर्ने गरेको गुनासाहरु प्रदेश सरकारमा आइरहेको उनी सुनाउँछन् ।

त्यसकारण राज्यले यी विषयहरुप्रति गम्भीरतापूर्वक ध्यान दिनुपर्ने जरुरी रहेको उनको तर्क छ । मुस्कानसहितको प्रहरीले सेवा प्रवाह गरे धेरै समस्या समाधान हुने उनको सुझाव छ । ‘किनभने भारतीय पर्यटकहरु बढी आए देशको राजश्वमा ठूलो टेवा पुग्नेछ,’ उनले भने ।

मधेशमा आउने पर्यटकलाई ‘होल्ड’ फोकस भएर काम गर्न जरुरी रहेको उनको भनाइ छ । उनी भन्छन्,‘यसका लागि प्रदेश सरकारले काम गरिरहेको छ, अब पब्लिकबाट पनि त्यही अनुसारको योजनाहरु ल्याइनु पर्दछ । अनि सबैको सहकार्यमा यो अभियानलाई सफल बनाउँन सकिन्छ ।’

अहिलेको प्रदेश सरकार रेस्ट गर्ने सरकार नभएकोले प्रदेशको विकासका लागि हुने सबै सकारात्मक कार्यमा सरकार हातेमालो गर्न तयार रहेको मुख्यमन्त्री सिंहको प्रष्टोक्ति छ ।

पर्यटन मन्त्री युवराज भट्टराइ (समीर) ले प्रदेश सरकारले पर्यटन भित्र्याउन हरेक पहलको थालनी गरेको बताए । त्यही रणनीति अनुसार प्रदेश सरकारले २०८२ लाई भिजिट मधेशको नारा ल्याएको उनले जनाए । पर्यटन मन्त्री युवराज भट्टराइको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रदेश सांसदहरु जनार्दन सिंह क्षेत्री, श्याम पटेल, रहबर अन्सारीसहितकाले आफ्ना धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्