अन्तर्वार्ता

जनता अवास कार्यक्रम अन्तर्गत निर्माणाधीन घरहरुको भुक्तानी गर्न माग गर्दै रौतहटमा आन्दोलन

१२ असार २०८१, बुधबार १६:५९

रौतहट ,१२ असार। रौतहटमा जनता अवास कार्यक्रम अन्तर्गत निर्माणाधीन घरहरुको भुक्तानी गर्नुपर्ने माग गर्दै लाभग्राही पीडÞितहरु आन्दोलन गरिरहेको छ । आम दलित मोर्चाले नेतृत्व गरेको आन्दोलनकारीहरु रौतहटको गौर स्थित पूर्वाधार विकास कार्यालयमा तालाबन्दी गरेर धर्ना दिईरहेको छ ।

मोर्चाका अध्यक्ष एवं जनता अवास कार्यक्रम संघर्ष समिति मौलापुरका संयोजक ठागा दासको नेतृत्वमा आन्दोलनका कार्यक्रम निरन्तर अगाडी बढीरहेको छ । संघर्ष समितिले पूर्वाधार विकास कार्यालयमा तालाबन्दी गरेर धर्ना जारी राखेपछि सरोकारवाला बीच आज बार्ता समेत भईरहेको छ ।

जनता अवास कार्यक्रम अन्तरगत निर्माण भईसकेका घरको भुक्तानी गर्ने र त्यसको अनुगमन गर्ने तयारी भईरहेको छ । मधेस प्रदेशका सांसद समेत रहेका जनता अवास कार्यक्रम रौतहटका संयोजक जयचन्द पटेलले निर्माण भईसकेका घरको अनुगमन गरेर भुक्तानी गर्नुपर्नेमा सहमत छन् । पटेल सहित सरोकारवाला एवं आन्दोलनरत पक्षका बीचमा छलफल भएको विद्यार्थी मोर्चाका अध्यक्ष विवेक साहले जनाएका छन् ।

‘यस अघिको मधेस सरकारले जनताको आवाज नसुनेको र गरिब दलितको निर्माण भईसकेको घरको भुक्तानी गरेन् । कतिपय घर निर्माण भईरहेकै अवस्थामा अधुरो छोड्यो । हामीले निर्माण भईसकेका घरहरुको भुक्तानी हुनुपर्ने र अधुरो छोडिएका घरको निर्माण यथासिघ्र सुरु गर्नुपर्ने माग गरेका छौं’ साहले भने ।

रौतहटको बगही, पतौरा, मौलापुर, मर्यादपुर, पथरा, बुधरामपुर लगायतका गाउँमा जनता अवास कार्यक्रम अन्तरगत निर्माण भईसकेको घरको भुक्तानी गर्न बाँकी रहेको छ । यस्तै कतिपय ठाउँमा अधुरो अवस्थामै घर निर्माणको काम छोडिएकाले त्यसलाई पुरा गर्नुपर्ने संघर्ष समितिका संयोजक दासले जनाएका छन् ।

यसअघि आम दलित मोर्चाका अध्यक्ष एवं संघर्ष समितिका संयोजक ठागा दासको नेतृत्वमा रौतहटका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको थियो । जनता अवास कार्यक्रम अन्तरगत निर्माण भईसकेका घरको भुक्तानी एवं अधुरो छोडिएका घरको निर्माण सम्पन्न गर्नुपर्ने, पथरा बुधरामपुरको भकुवा खोलामा अधुरो पुलको काम सम्पन्न गर्नुपर्ने लगायतका माग समितिले गरेको छ । तर सम्बन्धित निकाले चासो नदिएपछि आन्दोलनका कार्यक्रम अगाडी बढाईएको हो ।

 

प्रतिक्रिया दिनुहोस्