प्रदेश समाचार

उद्यमशिलता तथा रोजगारी प्रवर्द्धन गर्ने मन्त्री भट्टराईको पहिलो निर्णय 

२६ जेष्ठ २०८१, शनिबार ११:३१

वीरगन्ज, २६ जेठ । मधेश प्रदेश सरकारका नवनियुक्त उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराई ‘समिर’ ले उद्यमशिलता र रोजगारी प्रवद्र्धन गर्ने पहिलो निर्णय गर्नुभएको छ ।

शुक्रबार मन्त्रीको पद तथा गोपनियताको सपथ ग्रहणपछि पदभार ग्रहण गर्दै मन्त्री भट्टराईले रोजगारी सृजना गर्न आवश्यक नीति निर्णयार्थ पेश गर्ने निर्णय गर्नुभएको हो ।

कृषिमा महत्वपूर्ण योगदान पु¥याएको मधेस प्रदेशमा धान, गहुँ, उखु, जुट र सुर्तीजस्ता बाली उत्पादनमा अग्रणी रहेको र यी कृषि उत्पादनहरू धेरै उद्योगहरूको लागि आधार पनि रहेको उहाँको भनाई छ ।

त्यस्तै सिमेन्ट, प्लास्टिक पाइप, फलामे डन्डी, टेक्सटाइल धागो फूड र फीड, खाद्य प्रशोधन आदि मधेश प्रदेशमा रहेका प्रमुख उद्योगहरु रहेको र ती उद्योगहरुमा स्थानीय दक्ष जनशक्तिको अभावमा भारतबाट कामदारहरु ल्याई काममा लगाउने गरेको अवस्था विद्यमान रहेकोले नेपालमै रोजगारी सृजना गर्नुपर्ने आवश्यकता औंल्याउनु भएको छ ।

नेपालबाट वैदेशिक रोजगारीमा जाने जिल्लाहरु मध्ये मधेश प्रदेशका जिल्लाहको संख्या अत्याधिक रहेकोले आन्तरिक रोजगारीका अवसरहरु सृजना गर्न सरकारी, निजी तथा गैर सरकारी क्षेत्रहरुसंग सहकार्यमा स्थानीय जनशक्तिलाई विभिन्न किसिमका रोजगार मूलक सीप विकास तालिम तथा प्रविधि हस्तान्तरण मार्फत उद्यमशिलता तथा रोजगारी प्रवद्र्धन गर्ने निर्णय गर्नुभएको छ ।

त्यसका लागि विभिन्न सरकारी, निजी तथा गैर सरकारी क्षेत्रहरुसंग सहकार्य गरि स्थानीय जनताको लागि थप रोजगारी सृजना गर्न आवश्यक निर्णय गरेको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री भट्टराईले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्