प्रदेश समाचार

मधेश प्रदेशमा मन्त्रालयको भागवण्डा मिल्यो, जनमत नेतृत्वमा नयाँ सरकार

२५ जेष्ठ २०८१, शुक्रबार ०९:२७

वीरगन्ज, २५ जेठ । मधेश प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार गठन हुने भएको छ । सरकार निर्माणका लागि ६ दल मिलेर सरकार बनाउने दाबी पेस गरेसंगै जनमत नेतृत्वमा नयाँ सरकार गठन हुने भएको हो ।

बुधबारको सदनबाट मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन नसकेपछि प्रदेश प्रमुखले दिएको समयसीमाभित्र आज विहान ६ दलले मिलेर संयुक्तरुपमा सरकार बनाउने दाबी पेश गरेका छन् ।

मधेशमा एमाले,माओवादी, जनमत, एकीकृत समाजवादी, नेपाल संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीले संयुक्तरुपमा सरकार गठन गर्ने दाबी पेस गरेको माओवादी प्रदेश सांसद युवराज भट्टराइ (समीर) ले जानकारी दिनुभयो ।

सरकार गठनका लागि बहुमत सांसदको हस्ताक्षरसतिह दाबी पेस भएसंगै आजै मुख्यमन्त्रीसहित सबै मन्त्रीहरुले शपथ पनि लिनेछन् ।

कुन मन्त्रालय कुन दलको भागमा ?

मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि मन्त्रालय भागवण्डा सहित दावी पेस गरेका छन् । दलहरुले बिहीबार कुन पार्टीलाई कति मन्त्रालय दिनेसमेत टुंगोसमेत लगाएर सरकार गठनको तयारी भएको छ ।

सरकारमा सहभागी ६ दलहरुमध्ये एमालेलाई ४, माओवादीलाई २, जनमतलाई मुख्यमन्त्रीसहित २, एसलाई २ र नागरिक उन्मुक्ति र नेपाल संघीय समाजवादीलाई एक/एक मन्त्रालय भागबण्डामा परेको छ ।

एमालेको भागमा भौतिक, शिक्षा, स्वास्थ्य र युवा तथा खेलकुद मन्त्रालय परेको छ भने माओवादीलाई अर्थ र पर्यटन मन्त्रालय परेको छ ।

यसैगरी जनमतलाई मुख्यमन्त्रीसहित वन मन्त्रालय परेको छ भने एकीकृत समाजवादीको भागमा उर्जा र कृषि मन्त्रालय परेको एमाले–माओवादी गठबन्धनले जानकारी दिएको छ ।

त्यस्तै नागरिक उन्मुक्ति पार्टीलाई श्रम तथा रोजगार र नेपाल संघीय समाजवादीलाई गृह मन्त्रालयको जिम्मेवारी दिइएको माओवादी प्रदेश सांसद भट्टराइले बताउनुभयो ।

सरकार गठनका लागि दाबी पेश भएसंगै सत्तारुढ दलहरुले आजै विहान ११ बजे पद पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्