प्रदेश समाचार

वीरगन्जका खेलाडीलाई इनामको घोषणा

२२ जेष्ठ २०८१, मंगलवार १६:३१

सिम्रौनगढ, २२ जेठ । नेपाली क्रिकेटप्रेमीहरुको लागि आज निकै रोचक हुने भएको छ । अमेरिकामा जारी टि–२० विश्वकप क्रिकेटमा आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दै छ ।

नेपाली समय अनुसार बेलुकी ९ः१५ मा हुने खेलको सबै स्थानीय तहले प्रत्यक्ष प्रसारण गर्ने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई पत्राचार गरेर मंगलबार हुने क्रिकेट खेलको प्रत्यक्ष प्रसारण गर्न निर्देशन गरेको हो ।

त्यस्तै स्थानीय तहले पनि क्रिकेट खेलको प्रवद्र्धन र खेलाडीको प्रोत्साहन तथा हौसलाका लागि इनामको पनि घोषणा गरेको छ । वीरगन्ज महानगरपालिकाले अमेरिका र वेस्ट इन्डिजमा जारी आईसीसी टि–२० विश्वकप क्रिकेट खेल्ने आसिफ शेखलाई शतक प्रहार गरेमा नगद १ लाख रुपैयाँसहित सम्मान गर्ने वीरगञ्ज महानगरपालिकाले जनाएको छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मूर्ली निवासी आसिफ नेपाली राष्ट्रिय क्रिकेट टोलीका विकेटकिपर र व्याट्म्यान हुन् । यसैगरी बाल एकता बोर्डिङ स्कुलले पनि आफ्नो स्कुलका विद्यार्थी समेत रहेका अनिल साहलाई इनामको घोषणा गरेको छ ।

स्कुलका पूर्व विद्यार्थी अनिल साहले अमेरिकामा जारी विश्वकप क्रिकेटमा खेल्ने भएकोले उनले खेल्ने प्रत्येक खेलमा ३० रन बनाए १० हजार र ५० रन बनाउन ३० हजार रुपैंया दिने घोषणा गरेको हो । विद्यालयका प्रिन्सिपल सुमोद कुमार सर्राफले विज्ञप्ति जारी गर्दै नगद पुरस्कारको घोषणा गरेको हो ।

प्रतिक्रिया दिनुहोस्