प्रदेश समाचार

नेकपा माओवादी पर्सा क्षेत्र नम्बर ४ को क्षेत्रीय भेला सम्पन्न

२० जेष्ठ २०८१, आईतवार १७:३६

ठोरी, २० जेठ । नेकपा माओवादी केन्द्रको पर्सा क्षेत्र नं. ४ को क्षेत्रीय समन्वय समितिको बैठक आइतवार सम्पन्न भएको छ । ठोरी गापा–४, आठघरेमा सम्पन्न बैठकमा पार्टीका क्षेत्र नं.४ का अगुवा नेताकार्यकर्ताहरुको उपस्थिति थियो ।

बैठकमा बोल्ने वक्ताहरुले माओवादीकै कारण मुलुकमा गणतन्त्र र संघीयता प्राप्त भएकोले त्यसको रक्षाको निमित्त पार्टी गम्भीर भएर लाग्नुपर्नेमा जोड दिए । परिवर्तनको पक्षधर भएर पनि पार्टी संसदीय यात्रामा कमजोर बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै वक्ताहरुले पार्टी भित्रको अन्तर्विरोध हल गर्न सके पार्टी निर्माण हुन सक्ने विचार व्यक्त गरेका थिए ।

पार्टीका केन्द्रीय सचिव लिलामणी पोखरेलले १० वर्षे जनयुद्धबाट मुलुकमा ठुलो राजनीतिक परिवर्तन गर्न सफल भएको भएपनि सहिद परिवारले नै हामीले के पायौं भनेर प्रश्न सोध्ने अवस्था आएको बताउनुभयो ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएका पोखरेलले अब पार्टी निर्माणसंगै आर्थिक रुपान्तरण गर्नुपर्ने बेला आएको विचार व्यक्त गर्नुभयो । सो अवसरमा पार्टीका स्थायी कमिटी सदस्य एवम् पुर्व मन्त्री विश्वनाथ साहले पार्टीमा गुट सिर्जना हुनु दुखद भएको बताउँदै पार्टी विधान अनुसार चल्नुपर्नेमा जोड दिनुभयो ।

मधेसमा पार्टीभित्र रहेका सबै समस्या समाधान गर्न सबै तहतप्काको कार्यकर्ता लाग्नुपर्नेमा जोड दिँदै पुर्व मन्त्री साहले पार्टीमा अन्तर्विरोध हुने र सो अन्तर्विरोध हल भए पार्टी निर्माण हुने धारणा व्यक्त गर्नुभयो ।

बैठकमा पार्टीका केन्द्रीय सदस्य एवम् पर्सा जिल्ला ईन्चार्ज विजय महतो , केन्द्रीय सदस्य क्षेत्र नं।४ ईन्चार्ज टेक बहादुर शाक्य , केन्द्रीय सदस्य रामबाबु बैठा लगायतले बोलेका थिए ।

ठोरी गापाका पुर्व अध्यक्ष पदमलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ठोरी र जगरनाथपुर गाउँपालिका विभिन्न पार्टी परित्याग गरी एक दर्जन भन्दा व्यक्तिहरु माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्