बागमती

दुईबुँदे प्रतिबद्धतापछि पत्रकार महासंघको ताला खुल्यो

२० जेष्ठ २०८१, आईतवार १४:४८

जेठ, २० काठमाडौं । तोकिएकै समयमा निर्वाचन गर्न नेपाल पत्रकार महासंघ र आन्दोलनरत पत्रकार संगठनहरुले दुईबुँदे प्रतिबद्धता जनाएका छन् ।

नेपाल पत्रकार महासंघले यहि जेठ २६ गते जिल्ला, प्रदेश र केन्द्रको निर्वाचन गर्ने मिति तय भएको थियो । तर, सदस्यताको नामावलीमाथि असहमति जनाउदै केन्द्रीय कार्यालयमा पत्रकार संगठनहरुले तालाबन्दी गरेका थिए ।

पत्रकार संगठन र नेपाल पत्रकार महासंघबीच आज छलफल भएपछि तोकिएकै समयमा निर्वाचन गर्ने दुईबुँदे प्रतिबद्धता जनाएका हुन् ।

नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गर्नुपूर्व तालाबन्दी गर्नु पर्नाको कारणबारे विभिन्न पत्रकार संगठनहरुले उठाएका विषयहरु सदस्यता नविकरण, नयाँ सदस्यता प्रदान, स्थानान्तरण र शुद्धिकरणका सवालमा प्रस्तुत गरिएका मागहरु नेपाल पत्रकार महासंघको नेतृत्वले पूरा गर्ने प्रतिबद्धता जनाएका छन् ।

त्यस्तै महासंघले मागहरु पूरा गर्ने प्रतिबद्धता जनाएको हुँदा संघसंगठनहरुको तर्फबाट गरिएको तालाबन्दी पनि खोल्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिबद्धता पत्रमा नेपाल पत्रकार महासंघको तर्फबाट अध्यक्ष बिपुल पोखरेल र महासचिव रोशन पुरी, पत्रकार संगठनहरुको तर्फबाट समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणी सुवेदी, प्रगतिशील पत्रकार संघ नेपालका अध्यक्ष श्यामलाल पोखरेल, प्रेस मञ्च नेपालका महासचिव अवधेश झाले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्