बागमती

बंगलादेशी सांसद हत्याका आरोपी काठमाडौंमा पक्राउ

२० जेष्ठ २०८१, आईतवार १३:०१

काठमाडौं । भारतको कोलकातामा मृत भेटिएका बंगलादेशी सांसद् अनवरुल अजिम आनाको हत्यामा संलग्न एक आरोपी काठमाडौंमा पक्राउ परेका छन् ।

बंगलादेशको अंग्रेजी दैनिक ढाका ट्रिब्युनले हत्यामा संलग्न सइम हुसेन नामक व्यक्ति काठमाडौं पक्राउ परेको भन्दै समाचार लेखेको छ । सत्तारुढ दल अवामी लिगका सांसद् अजिमको हत्यामा संलग्नलाई फिर्ता ल्याउन नेपालस्थित बंगलादेशी दूतावासमार्फत लैजान कूटनीतिक प्रयास पनि भइरहेको समाचारमा भनिएको छ ।

नेपाली सुरक्षा उच्च स्रोतले पनि बंगलादेशी सांसद्को हत्यामा संलग्न नेपाल आएको सूचना पाएपछि आफूहरुले खोजी गरेको पुष्टि गरेको छ । एक उच्च अधिकृतको भनाइमा, भारतीय, बंगलादेशी र नेपाली प्रहरीको समन्वयमा अझै पनि अपरेशन जारी छ ।

यद्यपि, नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले भने बंगलादेशी सांसद् अजिमको हत्यामा संलग्नहरु पक्राउ परेकोबारेमा अनभिज्ञता प्रकट गरे ।
बंगलादेशी अधिकारीहरुले त्यहाँको सञ्चारमाध्यममा कूटनीतिक प्रयास भइरहेको भएपनि नेपालको कुनै पनि मुलुकसँग हालसम्म सुपुर्दगी सन्धि भएको छैन । यस्तोमा औपचारिक रुपमा कुनै पनि अभियुक्तको हस्तान्तरण गर्न सहज हुँदैन ।

नेपाल–भारतका प्रहरीबीच अनौपचारिक रुपमा लामो समयदेखि अपराध नियन्त्रणमा सहकार्य हुँदै आएको छ । बंगलादेशी सांसद् कोलकातामा मारिएकाले यो अपरेशनमा भारत–बंगलादेश र नेपालका सुरक्षा अधिकृतहरु जोडिएका छन् ।

महानगरीय प्रहरी कार्यालय, ढाका अन्तरगतको डिटेक्टिभ ब्रान्ज (डीबी) बाट चार सदस्यीय टोली काठमाडौं आएको थियो ।

स्वास्थ्य उपचारका लागि भन्दै कोलकाता आएका उनी ३० वैशाखबाट सम्पर्कविहीन भएका थिए । उनी सम्पर्कविहीन भएलगत्तै खोजीमा दिल्ली पुलिसको स्पेशल सेल र इन्टेलिजेन्स ब्यूरो (आईबी) का अधिकारीहरुले नेपाली सुरक्षा अधिकृतहरुसँग समन्वय गरेका थिए ।

यद्यपि, एक सातापछि उनी कोलकाताको एक अपार्टमेन्टमा मृत अवस्थामा फेला परेका थिए । लगत्तै भारतीय प्रहरीले चार बंगलादेशीलाई पनि पक्राउ गरेको थियो । उनको विभत्स हत्या गरिएको देखिएको थियो ।

अनुसन्धानका क्रममा यसमा संलग्न थप व्यक्तिहरु नेपालतर्फ गएको देखिएको भारतीय प्रहरीको दाबी थियो । त्यसपछि बंगलादेशस्थित प्रहरीले पनि नेपाल प्रहरीसँग समन्वय गरेको उच्च स्रोतले जनाएको छ ।

बंगलादेशी अधिकारीहरुले त्यहाँको सञ्चारमाध्यममा कूटनीतिक प्रयास भइरहेको भएपनि नेपालको कुनै पनि मुलुकसँग हालसम्म सुपुर्दगी सन्धि भएको छैन । यस्तोमा औपचारिक रुपमा कुनै पनि अभियुक्तको हस्तान्तरण गर्न सहज छैन । डीबीका प्रमुख हरुनोर रसिदले पनि सइम काठमाडौंमा पक्राउ परेको सुनेको ढाकामा पत्रकारहरुसँग बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्