प्रदेश समाचार

तराई मधेसमा गर्मीले रेकर्ड तोड्दै, जनजीवन अस्तव्यस्त

१७ जेष्ठ २०८१, बिहीबार १३:२३

वीरगन्ज, १७ जेठ । तराई मधेशका जिल्लामा गर्मी बढेको छ । पश्चिम तराईका कतिपय ठाउँमा अधिकतम तापक्रम ४२ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ ।

बुधबार वीरगन्जको तापक्रम ४१ डिग्री सेल्सियस पुगेको छ । तर ५० डिग्री कै गर्मी महशुस गरिएको छ । विहीबार विहान ९ बजे वीरगन्जको तापक्रम ३५ डिग्री सेल्सियस मापन गरिएको छ ।

तर गर्मीको अनुभव भने ४१ डिग्री जतिकैको भईरहेको छ । आज विहीबार र भोलि शुक्रबार अझै गर्मी बढ्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अत्यधिक गर्मीका कारण सबैभन्दा बढी खुला ठाउँमा काम गर्ने मजदुर र रिक्साचालक प्रभावित भएका छन् ।

मजदुरहरु चर्को घाममा काम खोज्दै हिँडेको दृश्य वीरगन्जमा देखिएको छ । गर्मी बढिरहँदा वीरगन्जमा विद्युत् नियमित नहुँदा नागरिकले ठूलो सास्ती खेप्न बाध्य भएका छन् । झ्यापझ्याप बत्ति आउनेजाने गर्दा नागरिकलाई सास्ती भएको छ ।

वीरगन्ज सहित तराई, मधेशका धेरै ठाउँमा बजार र ग्रामीण क्षेत्रमा समेत मानिसको चहलपहल घटेको छ । गर्मी बढेपछि तराई मधेशका धेरै पालिकाहरुले विद्यालयमा बिदा दिएका छन् ।

गर्मी बढेकाले काम नपरी घरबाट ननिस्कन, शीतलमा बस्न, बेलाबेला पानी र सर्वत तथा फलफूलको जुस पिउन प्रकोप विज्ञहरुको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्