प्रदेश समाचार

अत्यधिक गर्मी तराईका जिल्लामा तीनदिनसम्म रहने

१६ जेष्ठ २०८१, बुधबार ११:०५

वीरगन्ज, १६ जेठ । तराईका जिल्लाहरुमा बढेको अत्यधिक गर्मी आगामी तीन दिनसम्म जारी रहने मौसमविदले बताएका छन् ।

सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा मा बढी गर्मी हुने छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तुलनामा मधेश प्रदेशका जिल्लाहरुमा अली कम गर्मीको सम्भावना रहेको मौसमविद बिनु महर्जनले बताउनुभयो । कोशी प्रदेशका तराई भूभागमा झनै कम गर्मीको सम्भावना रहेको मौसमविद महर्जनले बताउनुभयो ।

मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै आगामी ३ दिनसम्म (२०८१ जेठ १६ गतेदेखि २०८१ जेठ १८ गतेसम्म) तातो हावा तथा तातो लहरको सम्भावना रहेको जनाएको छ । त्यसको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले भनेको छ ।

जेठ १३ गतेदेखि १५ गतेसम्म पनि हिट वेभको पूर्वानुमान सार्वजनिक गरेको मौसम पूर्वानुमान महाशाखाले अहिले फेरि थप तीन दिन तातो हावाको लहर चल्ने जनाएको छ ।

सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानहरूमा बिगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ ।

लुम्बिनी र सुदूरपश्चिम क्षेत्रको तराई क्षेत्रमा तत्काल पानी पर्ने सम्भावना नभएकाले गर्मी बढ्ने गरेको छ ।

बंगालको खाडीमा विकसित रेमल चक्रवातको अप्रत्यक्ष असरको कारण नेपालको पूर्वी र मध्य भागमा वर्षा भएको थियो । यो चक्रवातको नेपालको पूर्वी भूभाग भन्दा पनि अझै पूर्व भारतको मेघालय आसपास कमजोर अवस्थामा छ । त्यसको असरले नेपालका कोशी प्रदेशमा सामान्य वर्षाको सम्भावना कायम छ ।

प्रतिक्रिया दिनुहोस्