प्रदेश समाचार

पर्साको ठोरी गाउँपालिका पर्यटकीय पूर्वाधार निर्माणमा अग्रसर

१४ जेष्ठ २०८१, सोमबार १६:१९

ठोरी, १४ जेठ । पर्यटकीय क्षेत्र घोषणा भएर पनि बजेट अभावमा समस्या झेल्दै आएको ठोरीमा पर्यटकीय पुर्वाधार निर्माण गर्न स्थानीय सरकार आफैं अग्रसर भएको छ ।

पर्यटकीय क्षेत्र घोषणा भएर पनि बजेट अभावमा समस्या झेल्दै आएको ठोरीमा पर्यटकीय पुर्वाधार निर्माण गर्न स्थानीय सरकार आफैं अग्रसर भएको हो । पर्यटकीय विकासका निमित्त ठोरी गाउँपालिकाले संघीय सरकारको साझेदारीमा करीब ९ करोड लागतको गुरुयोजना सहित ठोरी पार्क निर्माण गर्न लागेको हो ।

ठोरी गाउँपालिका–२ को सुन्दरवस्ती कृष्णमन्दिर परिसरमा निर्माण हुन लागेको पार्कको सोमबार ठोरी गाउँपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठले शिलान्यास गर्नुभयो । संघीय सरकार र स्थानीय सरकारको लागत साझेदारीमा निर्माण हुने पार्कको लागि चालू आर्थिक वर्षमा रु.१ करोड रकम छुट्याइएको गाउँपालिका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

उक्त बजेटले पहिलो चरणमा कम्पाउण्ड निर्माण, स्विमिङ पुल निर्माण लगायतका आधारभूत पर्यटन प्रवर्द्धनका निमित्त संरचना निर्माण हुनेछन्। सो कार्यको लागि पार्कको पहिलो चरणको निर्माणको ठेक्का हिरण्य बालकृष्ण इन्जिनियरिङ्ग कन्ट्रक्सन प्रालिले सकारेको छ।

१ बिघा १४ कट्ठा जग्गामा फैलिएको सो पार्कको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) का अनुसार उक्त पार्क निर्माण सम्पन्न गर्न रु. ९ करोड खर्च हुनेछ । यसअघि पिकनिक स्पटका रुपमा चर्चित र धेरै पर्यटकले अवलोकन गर्ने ठुटेखोला किनारको राईधारामा ठोरी गापाले पार्क बनाउने तयारी गरेको थियो ।

तर पार्क बनाउन लामो समय प्रयास गर्दा समेत चितवन राष्ट्रिय निकुञ्जले सो ठाउँमा पार्क निर्माणका लागि अनुमति नदिएको श्रेष्ठले बताउनुभयो । ठोरी २ का वडाध्यक्ष अमृतकृष्ण सापकोटाको अध्यक्षतामा भएको पार्कको शिलान्यास कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका नेताहरु,

सुरक्षाकर्मी लगायत स्थानीयको सहभागिता रहेको थियो। सो अवसरमा ठोरी गापा उपाध्यक्ष गोकुली कुमारी रेग्मीले पार्क निर्माणमा ढिलाई नगरी गुणस्तरीय कार्य गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्