प्रदेश समाचार

शुक्रबारसम्मका लागि वीरगन्ज महानगरका विद्यालय बन्द

१४ जेष्ठ २०८१, सोमबार ११:२९

वीरगञ्ज, १४ जेठ । अत्याधिक गर्मीले जनजीवन कष्टकर बन्दै गएपछि वीरगन्ज महानगरपालिकाले तीन दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

गर्मीले विद्यार्थीहरु बेहोस हुन थालेपछि वीरगञ्ज महानगरपालिकाको सोमबार बसेको शिक्षा समितिको बैठकले बुधबारदेखि शुक्रबार सम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको वीरगन्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘भोली गणतन्त्र दिवसको सार्वजनिक विदा छ । चर्को घामसँगैको गर्मीले विद्यार्थीहरुलाई समस्या हुदै आएको छ । त्यसैले बुधबारदेखि शुक्रबारसम्म मौसमको अवस्था हेरेर बन्द गर्ने निर्णय गरेका हौं । त्यसपछि फेरी मौसम सामान्य भयो भने सोही अनुसार विद्यालय खुल्छ । मौसम प्रतिकुल भयो भने फेरी थप निर्णय गर्छौ ।’

अत्यधिक गर्मीका कारण बालबालिका, वृद्धवृद्धा र दैनिक ज्यालादारी मजदूरहरुलाई समस्या भएको छ । बैशाख अघि पनि लामोसमय सम्म पानी नपरेर अत्यधिक गर्मीले प्रभावित बनेको मधेस तराईको जनजीवन जेठको पहिलो साता फाटफुट पानी परेपछि सामान्य बनेको थियो ।

फेरी चर्को घाम र गर्मीले जनजीवन अस्तव्यस्त बनेको छ । उखरमाउलो गर्मी हुन थालेपछि महानगरपालिकाको निर्देशन अनुसार बिहानी कक्षा सञ्चालन गरिरहेको विद्यालयलाई शुक्रबारसम्म बन्द गर्ने निर्णय गरेको छ ।

महानगर भित्रका सबै विद्यालय बुधबारदेखि शुक्रबारसम्मका लागि बन्द गर्ने निर्णय भएको कर्णले बताउनुभयो । विगत ४ दिन देखि लगातार वीरगञ्जको तापक्रम बढेर तातो हावा चल्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस्