प्रदेश समाचार

कान्तिपुर मिडियाका अध्यक्ष सिरोहियालाई अदालत लाने तयारी

९ जेष्ठ २०८१, बुधबार ११:०३

९ जेठ, जनकपुरधाम । दोहोरो नागरिकता लिएको कसुरमा अनुसन्धानका लागि मंगलबार प्रहरीले नियन्त्रणमा लिएको कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई आज (बुधबार) जिल्ला अदालत धनुषामा लाने तयारी गरेको छ ।

सिरोहियालाई मंगलबार साँझ ६ः१८ मिनेटमा कान्तिपुर मिडियाको कार्यालयबाटै नियन्त्रणमा लिएर हिजै धनुषा ल्याइएको थियो ।

धनुषा प्रहरीको हिरासतमा रहेका सिरोहियालाई अहिले अदालतमा हाजिर गराउने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिनुभयो ।

सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालय, धनुषामा १६ वैशाख २०८१ सर्लाहीका इन्द्रजित महतोले दिएको किटानी जाहेरीको आधारमा जिल्ला अदालते उनलाई पक्राउ गर्न मंगलबार अनुमति दिएको थियो ।

सिरोहियाले फरक–फरक नम्बरका नागरिकताहरु प्रयोग गरिरहेको भन्दै नागरिकता ऐन, २०६३ अनुसारको कसूरमा छानबिन गर्न प्रहरीमा जाहेरी परेको हो ।

प्रतिक्रिया दिनुहोस्