प्रदेश समाचार

राजेशमान सिंह र मोहम्मद सहाबुद्दीनबीचको द्वन्द्व पार्टीसम्म पुग्यो

६ जेष्ठ २०८१, आईतवार १४:५२

वीरगन्ज, ६ जेठ । वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह र नेपाली कांग्रेसका क्षेत्रीय सभापति मोहम्मद सहाबुद्दीनको व्यक्तिगत झगडाले पार्टीसम्म प्रभाव परेको छ ।

मेयर सिंह विरुद्ध लगातार प्रदर्शन गर्दै आएको सहाबुद्दीन समूह र महानगर प्रमुख राजेशमान समूहबीच शुक्रबार वीरगन्जमा झडप समेत भएको छ ।

झडपपछि राजनीतिक रंग थप छताछुल्ल भएको हो । झडपमा आफ्ना कार्यकर्ता घाईते भएको भन्दै नेपाली कांग्रेस पर्साले विज्ञप्ति नै जारी गरी कांग्रेसका कार्यकर्तामाथि आक्रमण गरी घाईते बनाएकाहरुलाई कारवाही गर्न माग गरेका छन् ।

नेपाली कांग्रेस पर्साका प्रवक्ता रमेश पाण्डेले शनिबार विज्ञप्ति जारी गर्दै शुक्रबार भएको झडपका क्रममा नेविसंघ पर्साका अध्यक्ष रमेश यादव सहित अन्य कार्यकर्ताहरुमाथि आक्रमण गर्नेलाई कारवाहीको माग गरेको छ ।

नेपाली कांग्रेसले विज्ञप्ति जारी गरे लगत्तै जसपाले पनि विज्ञप्ति जारी गर्दै व्यक्तिगत सवारी साधनमा आगजनी गर्ने प्रयासमा संलग्न भएकाहरुलाई प्रहरीले लाठीचार्ज गर्दा घाईत भएको विषयलाई जसपाका कार्यकर्तासँग झडप भएको भनेर अतिरञ्जना फैलाईएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

वीरगन्ज महानगर प्रमुखको समर्थनमा नाराबाजी गरेका जसपाका कार्यकर्ताहरुलाई नेपाली कांग्रेसका क्षेत्रीय सभापति भनिएका व्यक्ति समेतको संलग्नतामा लाठी र हेलमेट प्रहारको घोर भत्र्सना गर्दै घटनामा संलग्नलाई कानूनी कारवाही गर्नुपर्ने माग गरेको छ ।

पार्टीका जिल्ला संयोजक सिंगासन साह तेलीले हस्ताक्षर गरेको विज्ञप्तिमा लोकतान्त्रिक भनिएको नेपाली कांग्रेसको क्षेत्रीय सभापति जस्तो व्यक्तिले स्वयं सर्वसाधारणको सवारीमा आगजनी गर्ने प्रयास गरेको भिडियो प्रमाण समेत सामाजिक सञ्जालमा आईसकेको भन्दै उनलाई कारवाही गर्न माग गरेको छ ।

राजनीतिक खोल ओढेको व्यक्ति र उसको पारिवारिक रिसको सिकार समग्र वीरगन्ज हुन नसक्ने भन्दै वीरगन्जको व्यापार, व्यावसाय, बजार व्यावस्थापन र नगरवासीको अमन चयन उनीहरुको उद्दण्डता र गैरकानूनी हर्कत झेल्न बाध्य नहुने जनाएको छ । उनीहरुको त्यस्तो गतिविधि नरोकिए जनता समाजवादी पार्टी त्यसको विरुद्ध कडा प्रतिकार गर्न बाध्य हुने पनि विज्ञप्ति मार्फत चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्