प्रदेश समाचार

नेकपा एमालेका अध्यक्ष ओली सहभागी कार्यक्रममा विद्यार्थीको प्रयोग

५ जेष्ठ २०८१, शनिबार १४:२६

वीरगन्ज, ५ जेठ । बाराको प्रसौनी गाउँपालिकाको प्रशासनिक भवन उदघाटनमा विद्यालयका बालबालिकाहरुको प्रयोग गरिएको पाईएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार उदघाटन गरेको कार्यक्रममा विद्यालयका बालबालिकाहरुको व्यापक उपस्थिति गराईएको थियो ।

शुक्रबार मधेस प्रदेशमा सार्वजनिक विदा दिईएको थियो । सीता जयन्तीको अवसरमा मधेस प्रदेश सरकारले सार्वजनिक विदा दिएपनि प्रसौनी गाउँपालिकाको प्रशासनिक भवन उदघाटनका लागि केपी ओली आउने कार्यक्रममा भने गाउँपालिकाका सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई विद्यालय पोशाकमै उपस्थित गराएको छ ।

भवन उद्घाटन समारोहमा नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, बहालवाला उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठ, कृषिमन्त्री ज्वाला साह, बारा पर्साका सांसदहरु, मधेस प्रदेशका सांसद तथा पूर्वमन्त्रीहरु समेत सहभागी रहेका थिए ।

पूर्वप्रधानमन्त्री, बहालवाला उपप्रधानमन्त्री, मन्त्रीहरु सहभागी भएको कार्यक्रममै विद्र्याीहरुलाई चर्को घाममा बसाएर भवन उदघाटन गरिएको भन्दै व्यापक आलोचना भएको छ । तर, गाउँपालिका प्रमुख विनोद जयसवालले भने आफूले विद्यार्थीहरुलाई उपस्थित हुन उर्दी नगरेको बताए ।

उनले गाउँपालिकाको प्रशासकीय भवन उदघाटन कार्यक्रम भएको हुँदा कार्यक्रम हेर्न विद्यार्थीहरु आएको हुनसक्ने भन्दै उनले आफूले कुनै विद्यालयका विद्यार्थीलाई उपस्थित हुन निर्देशन नदिएको बताए ।

ओली उपस्थित मञ्चमा प्रचण्ड विरोधी गीत गाएपछि………………

सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी ओलीको उपस्थितिमा भएको प्रशासनिक भवन उदघाटनको क्रममा राखिएको सांगीतिक प्रस्तुतीमा माओवादी विरोधी गीत गाएपछि खैलाबैला मच्चिएको थियो ।

मञ्चमा उपस्थित प्रमुख अतिथि ओली सहित एमालेका नेताहरु तथा सत्तारुढ दल एकीकृत समाजवादी पार्टी बारा क्षेत्र नम्बर ४ का सांसद कृष्णकुमार श्रेष्ठ र जीतपुर सिमरा उपमहानगर प्रमुख तथा नेकपा माओवादी केन्द्रका उपमहानगर इञ्चार्ज समेत रहेको राजन पौडेल सहभागी कार्यक्रममै माओवादीका अध्यक्ष प्रचण्डलाई गाली गरिएको शब्दको गीत गाएपछि खैलाबैला मच्चिएको हो ।

मञ्चमा गीत गाएका कलाकारले नेपाली कांग्रेसलाई र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई गाली गरेको गीत गाएपछि जीतपुर सिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेल मञ्चबाट उठेर बाहिरिएको प्रत्यक्षदर्शीले बताए ।

गीत गाउने क्रममा माओवादीलाई गाली गरिएको गीत गाएपछि उठेर हिड्न खोज्दा पौडेललाई क्षेत्र नम्बर ४ का सांसद एवं एकीकृत समाजवादीका नेता कृष्णकुमार श्रेष्ठ किसानले रोक्न खोजेका थिए ।

उनले त्यस विषयमा कार्यक्रम पछि असन्तुष्टि जनाउने वा विरोध गर्ने भन्दै सम्झाउन खोजेपनि उपमहानगरपालिकाका प्रमुख पौडेल मञ्च छोडेर हिडेका थिए ।

प्रतिक्रिया दिनुहोस्