मधेस

पर्सामा आजदेखि ‘राडार गन’ बाट सवारीको निगरानी

३१ बैशाख २०८१, सोमबार ०८:०३

३१ वैशाख,वीरगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले तीव्र गतिमा चलाउने सवारी चालकमाथि कारबाही सुरु गरेको छ ।ट्राफिक प्रहरीले ओभर स्पिड डिटेक्सन “राडार गन”ले तीव्र गतिमा चलाउने सवारी साधनलाई कारबाही गर्न सुरु गरेको हो ।

सोमबार (आजदेखि) जिल्लामा तिव्र गतिका सवारी साधानहरुलाई कारवाही गर्न सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरिक्षक इन्स्पेक्टर भाष्कर खतिवडाले जनाए । पहिलो दिन आज वीरगञ्ज–१४ गण्डकस्थित सडकखण्डकम ५ वटा सवारी साधनलाई कारवाही गरिएको उनले बताए ।

३ वटा कार र २ वटा म्याजिक मोटसाइकल १ गरी ६ सवारी साधनहरु आज कारवाहीमा परेको उनको भनाइ छ । अभियान निरन्तर चल्ने र आगामी दिनहरुमा मोटरसाइकल, भ्यान, जिप लगायतका सवारी साधनहरुलाई निगरानी गर्ने प्रहरी बताउँछ ।

के हो राडार गन ?

करिब एक किलोमिटर टाढाबाट नै तीव्र गतिमा आउने सवारी साधनलाई यसले पहिचान गर्छ र यसको जानकारी ट्राफिक प्रहरीलाई दिने गर्दछ ।
‘राडार गन’ ले तीव्र गतिमा चल्ने सवारी साधनको नम्बर प्लेटसहितको फोटो खिचेर यसको गतिसहितको विवरण स्टोरेज गरेको हुन्छ । जसलाई तुरुन्तै प्रिन्ट समेत गरेर प्रमाणको लागि सवारी धनीले लैजान सक्ने व्यवस्था रहेको छ ।

सडक विभागको मापदण्ड अनुसार राजमार्गमा अधिकतम ६० किलोमिटर प्रतिघण्टाको गतिमा सवारी साधन चलाउन पाइन्छ । त्यो भन्दा बढी गतिमा चल्ने सवारी साधनलाई कारवाही गर्न प्रहरीले अभियान सञ्चालन गरेको हो । जिल्लामा घट्ने दुर्घटनामध्ये सबैभन्दा बढी तीव्र गतिको कारण हुने भएकोले तीव्र गति नियन्त्रण गर्न यो अभियान चलाएको जिल्ला ट्राफिक कार्यालयका इन्स्पेक्टर खतिवडाले जानकारी दिए ।

“जिल्लामा हुने दुर्घटनाको करिब ९० प्रतिशत दुर्घटना तीव्र गतिकै कारण भएको देखिन्छ, तसर्थ यस्ता गतिविधिलाई रोकेर सवारी चालकलाई सचेत बनाउनका लागि पनि यो अभियान चलाइएको हो ।” ट्राफिक प्रहरी निरीक्षक खतिवडाले भने, “यसलाई कसरी न्यूनिकरण गर्न सकिन्छ भनेर गरेको छलफलपछि यो अभियान सुरु गरेका छौँ ।”उनले जिल्लामा पर्याप्त ‘राडार गन’ नभएकोले प्रदेश र केन्द्र ट्राफिक प्रहरी कार्यालयबाट माग गरिएको छ ।

प्रहरीको यो अभियानको बेवास्ता गर्ने सवारी चालकहरुलाई आगामी दिनमा जरिवाना समेत काट्ने प्रहरीको भनाइ छ । हाल सचेत गराएर मात्र छाड्ने र आगामी दिनमा भने पाँच सय रुपैँया देखि जरिवाना असुल्ने ट्राफिक प्रहरी पर्साले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्