अन्तर्वार्ता

उद्दघाटनपछि पर्सागढीको नगर सभा स्थगित

८ असार २०८१, शनिबार १८:१२

पर्सागढि ,८ असार।पर्साको पर्सागढि नगरपालिकाको नगर सभा स्थगित भएको छ । उद्दघाटन पश्चात नगरपालिकाको ११ औं नगरसभा स्थगित भएको हो ।

केही नगरसभा सदस्यहरुले सुरुमै विरोध जनाउँदा नगर सभा स्थगित भएको हो । सभाध्यक्ष एवम् नगर प्रमुख गोकर्ण पाठकले पानसमा बत्ती बालेर नगरसभाको उद्घाटन गरेका थिए । प्रमुख प्रशासकीय अधिकृत सहित ५० जना नगरसभा सदस्य रहेकोमा २२ जनाले मात्र उपस्थिति पुस्तिकामा हस्ताक्षर गरेपछि कुल सदस्य संख्याको ५१ प्रतिशत नपुगेकाले आजको सभा स्थगित भएको हो ।

असार २ गते बसेको कार्यपालिका बैठकले असार ८ गते नगर सभा गर्ने निर्णय गरेसंगै केही कार्यपालिका सदस्यहरुले विभिन्न माग अघि सारेका थिए । उनीहरुको माग पूरा नभएकोले नगरसभाको उपस्थिति पुस्तिकामा हस्ताक्षर नगर्दा बहुमत नपुगेकोले सभा नै स्थगित भएको हो । केही कार्यपालिका सदस्यहरुले वडाको बजेट सिलिङ्ग ५० लाखबाट बढाएर १ करोड गर्नुपर्ने, वडा अध्यक्षहरुलाई सेवा सुबिधा दिनुपर्ने, आर्थिक बर्ष ०८०÷०८१ को पालिकाको आम्दानी खर्च सार्वजनिक गर्नुपर्ने लगायत माग राखी विरोध गर्दै आईरहेका थिए ।

पर्सागढिका नगरप्रमुख पाठकले केही वडाध्यक्षहरुले पूरा गर्नै नसकिने मागहरु राखेर पालिकालाई बन्धक बनाउन खोजेको बताए । आफूहरुले ५० लाखभित्र रहेर वडाको बजेट सिलिङ बनाउन भनेकोमा वडाध्यक्षहरुले १ करोड रुपैँया माग गरेकोले समस्या भएको उनको भनाइ छ । गणपुरक संख्या नपुगेको कारण आजको नगरसभामा बजेट पेस गर्न नसकिएको उनले जनाए ।

अर्को नगर सभा असार ९ गते आईतवार हुने जानकारी गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्