अन्तर्वार्ता

ज्येष्ठ नागरिक मैत्री कानून बनाउन मधेस प्रदेश सरकारसँग ज्येष्ठ नागरिकहरुको आग्रह

८ असार २०८१, शनिबार १४:२५

वीरगञ्ज ८ असार । ज्येष्ठ नागरिकहरुले प्रदेशमा कानून निर्माण गर्न माग गरेका छन् । ज्येष्ट नगारिकहरुको हक अधिकार सम्बन्धी सरोकारवालासँगको अन्तरकृया कार्यक्रममा प्रदेशका ज्येष्ठ नागरिकहरुले प्रदेश सरकारसँग यस्तो माग गरेका हुन् ।

मधेस प्रदेश ज्येष्ठ नागरिक महासंघले वीरगन्जमा आज आयोजना गरेको अन्तरकृया कार्यक्रममा ज्येष्ठ नागरिकहरुले अहिलेसम्म प्रदेशले ज्येष्ठ नागरिकहरुको लागि कानून निर्माण नहुँदा कानूनी उपचारमा समस्या भएको भन्दै छिटो ज्येष्ठ नागरिक सम्बन्धी कानून निर्माण गर्न माग गरेका हुन् ।

मधेस प्रदेशका पर्सादेखि सप्तरीसम्मका ज्येष्ठ नागरिकहरुले ज्येष्ठ नागरिकहरुको सम्मान र सदभावका लागि सामाजिक संस्कारको विकास पनि आवश्यक रहेको बताएका छन् । उनीहरुले आफ्नो हक अधिकारका लागि युवा, प्रौढ र महिलाहरु संगठित भए जस्तै ज्येष्ठ नागरिकहरु पनि संगठित भएर अधिकारका लागि संघर्षरत रहेको बताएका छन् ।

उनीहरुले ज्येष्ठ नागरिकको हक अधिकार सुनिश्चित नभएसम्म अन्य संगठनहरुको पनि अधिकार सुनिश्चित नहुने बताउदै सबैभन्दा पहिला ज्येष्ठ नागरिकहरुका लागि सबै आवश्यक कानूनी, सामाजिक, भौतिक र सेवाका पूर्वाधारहरु निर्माण गर्न आग्रह गरे । कार्यक्रमका प्रमुख अतिथि मधेस प्रदेशका प्रदेशसभा सदस्य शंकर चौधरीले ज्येष्ठ नागरिकहरुका लागि आवश्यक कानून निर्माणमा आफ्नोतर्फबाट पहल हुने आश्वासन दिनुभयो ।

मधेस प्रदेश ज्येष्ठ नागरिक महासंघ मधेस प्रदेशका संयोजक जगदीश प्रसाद शर्माको अध्यक्षतामा भएको अन्तरकृया कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेस प्रदेशका महासचिव श्याम बञ्जरा, पूर्व अध्यक्ष शत्रुघन नेपाल, वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपाल, विभिन्न संघ संस्थाका प्रतिनिधि तथा पर्सादेखि सप्तरीसम्मका ज्येष्ठ नागरिकहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन विजयराज गौतमले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्