अन्तर्वार्ता

खडेरीले मकै सुक्न थालेपछि ठोरीका किसान चिन्तित

५ असार २०८१, बुधबार १५:१४

वीरगञ्ज, ५ असार । ठोरी गाउँपालिका लगायतको ग्रामीण क्षेत्रमा पानी नपर्दा बोटमै मकै सुक्न थालेको छ । सिँचाइ सुविधा नभएका यहाँका खेतबारीमा लगाएको मकै सुक्न थालेपछि किसानहरु चिन्तित बन्न थालेका छन् । पालिकाको वडा ३ को नयाँवस्ती, वडा ४ को मिलचोक, पिपलडाँडा, गुम्बालाईन, फायरलाईन लगायतका विभिन्न क्षेत्रमा लगाइएको मकैको बोट सुक्न थालेको हो ।

यी क्षेत्रका कतिपय किसानले छरेको धानको बीउ समेत पानीकै अभावको कारण सुक्न थालेको मिलचोकका किसान ठुलोकान्छा तामाङले जानकारी दिनुभयो । बारीमा लगाएको मकै बाली खडेरीले बोटमै धमाधम सुक्न थालेपछि मेहनत र खर्च दुबै खेर गएकोले चिन्ता परेको किसान तामाङले सुनाउनुभयो ।

बारीमा मकैका बोट सुकेर नष्ट हुन थालेपछि अर्को साल घरमा मकैको अनिकाल हुनेभयो भन्ने चिन्ताले सताएको तामाङले बताउनुभयो । पालिकाको सिँचाइ सुविधा नभएका र स्थानीय प्रजातिको मकै खेती भएको ठाउँमा खडेरीले मकै सुकेर नष्ट हुँदै गएका हुन् । बारीमा लगाएको सबै मकैको बोट सुकेपछि पानी पर्नेबित्तिकै तिल छर्ने तयारी गरेको ठोरी –४ का अर्का किसान हरि तिमिल्सिनाले बताउनुभयो ।

करीब १३ कट्ठा जग्गामा तिमिल्सिनाले लगाएको मकै बाली खडेरीका कारण सुकेको छ । खडेरीले मकैको किसानले लगाएको मकै बाली सुकेपछि किसानको मिहिनेत खेर गएको नै छ । यस्तै खनजोत गर्न र मलखादमा गरेको लगानी समेत डुबेको छ । खडेरीमा नसुकेका मकैको बोटमा समेत फौजी किराले क्षति पुर्याएको किसानको गुनासो छ ।

यहाँका कतिपय किसानले पानी नपरेका कारण मकैको बोट सुक्न थालेपछि फाडेर गाइवस्तुलाई दिन थालेका छन् । असारको पहिलो साता बित्नै लाग्दा समेत पानी नपरेपछि किसानको मकै बाली सुकेर खाली जमिनमा परिणत हुने अवस्था निम्तिएको हो ।

प्रतिक्रिया दिनुहोस्