प्रदेश समाचार

प्याब्सन पर्सा अन्तर विद्यालय ब्याडमिन्टनको उपाधि गौतम माविलाई

१ असार २०८१, शनिबार १५:३५

वीरगन्ज, १ असार । प्याब्सन पर्सा अन्तर विद्यालय ब्याडमिन्टन प्रतियोगिताको उपाधि गौतम माविले जितेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्सा वीरगन्जको कभर्ड हलमा आज सम्पन्न प्रतियोगितामा महिला जोडी र पुरुष एकल दुवै उपाधि गौतम माविले जितेको हो ।

एकल पुरुषतर्फ आज भएको अन्तिम खेलमा गौतम माविका प्रेम रौनियार प्रथम र न्यू वेभ माविका रोहित साह दोश्रो भएका छन् । ज्ञानदा एकेडेमीका जीत श्रीवास्तव तेश्रो र मुनलाई माविका दिलसाद आलमले चौथो स्थान हासिल गरेका छन् । त्यस्तै जोडी महिलातर्फ गौतम माविका विद्यार्थीहरु सुहाना गुप्ता र कृतिका यादवले प्रथम स्थान हासिल गरेका छन् ।

कञ्चन्जंघा माविका विद्यार्थीहरु साक्षी मित्तल र समिक्षा तिवारी दोश्रो भएका छन् । न्युवेभ माविकी आशिया खातुन र श्रृष्टि पञ्जियार तेश्रो भएकका छन् । ज्ञानज्योती माविका आर्या खुलाल र साहिना प्रविनले चौथो स्थान हासिल गरेका छन् ।

उत्कृष्ट पुरुष खेलाडी गौतम माविकै प्रेम रौनियार र उत्कृष्ट टिम पनि गौतम मावि नै भएको छ । त्यस्तै उत्कृष्ट महिलातर्फ न्यूवेभ माविकी श्रुती प्रजापति भएकी छिन् । उत्कृष्ट प्रतियोगिता सञ्चालनको सम्मान न्युवेभ माविले जितेको छ ।

प्रतियोगिताका विजेताहरुलाई प्रमुख अतिथि सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साका सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, विशिष्ट अतिथि प्रेस सेन्टर नेपाल केन्द्रीय सदस्य तथा पर्सा इञ्चार्ज निरज पिठाकोटे, जगत राई, वीरगन्ज युवा समाजका संस्थापक अध्यक्ष कमल चौगाई, अध्यक्ष सञ्जिव थापा, प्याब्सन मधेस प्रदेशका बरिष्ठ उपाध्यक्ष श्याम केसी लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

प्याब्सन पर्साका अध्यक्ष पुरन प्रधानको अध्यक्षतामा भएको समापन समारोहमा प्याब्सन पर्साका बरिष्ठ उपाध्यक्ष सरोज चौधरी, उपाध्यक्ष शिव गुप्ता, कोषाध्यक्ष लालकिशोर यादव लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन प्याब्सन महानगर सचिव राहुल श्रीवास्तवले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्