मधेस

क्याम्पस प्रमुख कुश्वाहाको हत्यारालाई कारवाही गर्न माग गर्दै कलैयामा प्रदर्शन

१ असार २०८१, शनिबार १३:१४

वीरगञ्ज ,१ असार। बाराको कलैया स्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभुषण कुश्वाहाको हत्याका दोषीलाई कारबाहीको माग गर्दै आज बाराको कलैया बजार बन्द गरिएको छ । बन्दकर्ताहरुले कलैया बजार नगर परिक्रमा गर्दै भरत चोकमा टायर बालेर प्रदर्शन गरेका छन् ।

प्रदर्शनका क्रममा उनीहरुले बजार बन्द गराउनुका साथै यातायात समेत ठप्प पारेका थिए । प्रदर्शनकारीहरुले कलैयाको भरत चौकमा टायर बालेर प्रदर्शन गर्दा प्रहरीले हस्तक्षेप गर्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच विवाद समेत भएको थियोे । आज विहान ६ बजेदेखि १२ बजेसम्म कलैया बजारमा प्रदर्शनकारीहरुले विरोध जनाएका हुन् ।

क्याम्पस प्रमुख हरिभुषण कुश्वाहामाथि अज्ञात समूहले बाराको हरनहिया चौक भन्दा केही पर भटिनिया गाउँ नजिकैको बाटोमा हिजो साँझ साढे ६ बजे गोली प्रहार गरी घाईते बनाएको थियो । घाईते कुश्वाहालाई उपचारका लागि गण्डक स्थित मेडिसिटी बयोधा अस्पताल ल्याईएकोमा उपचारका क्रममा उहाँको मृत्यु भएको थियो । घटनामा संलग्न रहेको आशंकामा दुईजना पक्राउ परेका छन् ।

उनीहरुमाथि अनुसन्धान भईरहको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्