प्रदेश समाचार

पर्साको जगरनाथपुरमा ३७ औं जिल्ला स्तरीय जुनियर रेडक्रस गोष्ठी शुरू

१ असार २०८१, शनिबार १२:३६

वीरगन्ज, १ असार । नेपाल रेडक्रस सोसाईटी पर्सा शाखाको आयोजनामा पर्साको जगरनाथपुर गाउँपालिकाको सन्ठी माविमा आज देखि ३७ औं जिल्ला स्तरीय जुनियर रेडक्रस गोष्ठी शुरू भएको छ ।

नेपाल रेडक्रस सोसाईटी पर्सा शाखाका विनोद गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष श्रीकान्त यादवले आफू आएदेखि शिक्षालाई प्राथमिकतामा राखेको बताउनु भयो ।

पालिका भरीमा एउटा मात्र माध्यमिक विद्यालय रहेकोमा अहिले तीनवटा माध्यमिक विद्यालय सञ्चालनमा रहेको बताउनु भयो । रेडक्रसले गरेको काममा आफ्नो पुर्ण सहयोग रहने बताउदै रेडक्रसले बनाउन लागेको रक्त सञ्चार भवनको लागि आर्थिक सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भयो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति वीरेन्द्र राज कडेल, गाउँपालिका उपाध्यक्ष बविता सिँह क्षेत्री, शिक्षक महासंघका अध्यक्ष तीर्थ राज यादव लगायतले मन्तब्य राख्नु भएको थियो ।

दुई दिन सम्म चल्ने कार्यक्रममा पर्सा जिल्ला भरीका विद्यालयका जूनियर सर्कल, शिक्षक नायकहरुको सहभागिता रहेको छ । कार्यक्रममा जुनियर सर्कल अभियान, ट्राफिक सचेतना, विपत, डेङ्गुको लगायत विषयमा जानकारी गराइने रेडक्रस पर्साका सदस्य शिवनाथ यादवले जानकारी गराउनु भयो ।

प्रतिक्रिया दिनुहोस्