मधेस

ठोरीको शिक्षा , कृषि र पर्यटन प्रवर्द्धनका निमित्त विशेष कार्यक्रम ल्याउनुपर्नेमा सरोकारवालाहरुको जोड

३१ जेष्ठ २०८१, बिहीबार १६:४६

३१ जेठ,ठोरी । ठोरी गाउँपालिकाको आगामी नीति तथा कार्यक्रममा शिक्षा , कृषि र पर्यटन प्रवर्द्धनका निमित्त विशेष कार्यक्रम ल्याउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन्।

ठोरीको आमुल परिवर्तनका निमित्त शिक्षा , कृषि र पर्यटन क्षेत्रमा पालिकाले प्राथमिकता दिएर बजेट विनियोजन गर्नुपर्नेमा सरोकारवालाहरुको जोड थियो । बिहिबार ठोरी गापाद्वारा आयोजित आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रमको लागि सर्वपक्षीय अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले भौतिक विकाससंगै चेतना परिवर्तनका निमित्त पनि गापाले विशेष कार्यक्रम ल्याउनुपर्ने सुझाव व्यक्त गरे ।

कार्यक्रममा सहभागीहरुले स्थानीय सरकार सफल बन्न दलीय विभेद नगरिकन सबैलाई समान व्यवहार गर्नुपर्ने सुझाव दिएका थिए । यस्तै ठोरीको सामुदायिक विद्यालयको शिक्षाको स्तर उकास्न मौजुदा गापाको शिक्षा ऐन संसोधन , अनुगमनमा कडाई , विद्यालयमा पालिकाको उपस्थिति हुनुपर्ने , स्थानीय पाठ्यक्रम निर्माण गर्दा मातृभाषामा निर्माण गर्नुपर्ने लगायतको सुझाव कार्यक्रममा प्रस्तुत गरिएको थियो ।

ठोरीमा वृद्धि हुँदै गरेको होटेल व्यवसायमा बढ्दै गएको देहव्यापार नियन्त्रणमा कडाई गर्ने गरी नीति तथा कार्यक्रम आउनुपर्नेमा सहभागीहरुको सुझाव थियो ।

कृषिमा विशेष प्राथमिकता , निष्क्रिय अवस्थामा रहेका कृषि सहकारी खारेजी , नमुना टोल विकास हुने किसिमका भौतिक विकास , गुणस्तरीय स्वास्थ्य , खानेपानीको उचित प्रबन्ध, ठुटेखोलाको पानीको सिचाईको स्तरोन्नति लगायतको व्यवस्था नीति तथा कार्यक्रममा उल्लेख गर्नुपर्ने सहभागीहरुले सुझाएका थिए । यस्तै विपद व्यवस्थापनमा स्थानीय सरकारको सक्रियता , सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुको लागि सहज बैङ्किङ सेवाको व्यवस्था नीति तथा कार्यक्रमले समेट्नुपर्ने सहभागीहरुले विचार व्यक्त गरेका थिए ।

ठोरी गापाकी उपाध्यक्ष गोकुली कुमारी रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ठोरीका गाउँ कार्यपालिका सदस्यको जिल्ला समन्वय समितिका पुर्व उपप्रमुख ठाकुर प्रसाद न्यौपाने , काङ्ग्रेस ठोरीका सभापति सन्तोष श्रेष्ठ , एमाले ठोरीका सचिव जगेन्द्र पौडेल , माओवादी केन्द्र ठोरीका उपाध्यक्ष भक्त बहादुर सुनार , काङ्ग्रेस महाधिवेशन प्रतिनिधिहरु राम बहादुर श्रेष्ठ , प्रकाश खनाल , समाजसेवी लेखमान थापा , शिक्षक महासंघ ठोरीका अध्यक्ष अमृत श्रेष्ठ , शिक्षक संगठनका केन्द्रीय सदस्य केशव शर्मा लगायतको उपस्थिति थियो । सहभागीको सुझाव पश्चात् कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष रेग्मीले आगामी दिनमा आफ्नो नेतृत्वमा अन्तरपार्टी सन्जाल गठन हुने घोषणा गर्नुभयो ।

सबैको चाहना समृद्ध ठोरी नै भएको बताउँदै उपाध्यक्ष रेग्मीले पालिकाको नेतृत्व गर्दा कतै न कतै त्रुटि भएको स्वीकार गर्नुभयो । आगामी दिनमा त्रुटि सच्याएर अघि बढ्ने र कार्यक्रमबाट प्राप्त सुझावलाई नीति तथा कार्यक्रममा समेट्ने उहाँको प्रतिबद्धता थियो ।

प्रतिक्रिया दिनुहोस्